सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ ।
चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा माओवादीलाई मज्जाले हराएको भन्दै आक्रोस पोखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सापकोटाले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताए ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचनमा अपेक्षा अनुसारको नतिजा नआएको बताएका छन्।
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि प्रमाणपत्र लिन गोरखा पुगेका प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन्।
‘यो निर्वाचनमा जे भए पनि परिणामत सुखद भएकै छ। सबै हाम्रा उम्मेदवारहरु विजयी हुनु भएको छ। त्यसकारण परिणाम सुखदै भन्ने छ,’ प्रचण्डले भने,‘तर हाम्रो अपेक्षाअनुसार जसरी परिणाम भन्ने थियो त्यस्तो अलि भएन भन्ने छ। नसोचेको, नसोचेको के–के कुरा भए भन्ने पनि छ।’
प्रचण्डले दलहरु सच्चिएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि औँल्याएका छन्।
माओवादी चुनावी परिणामबाट सानो आकारमा तेस्रो शक्तिमा खुम्चिएपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको छ । अब पार्टीलाई कस्तो बनाउने र कस्तो नीति अख्तियार गर्ने भन्ने विषयमा नेताहरूले आ–आफ्नै सुझावहरू दिन थालेका छन् ।
गत बिहीबार पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले फेसबुकमार्फत पार्टीलाई बलियो बनाउन नौ बुँदे सुझाव दिएका छन् । अबको प्रतिकूलतामा चुनाव लडेर जित्न जमिनमा दाह्रोसँग खुट्टा टेक्नुपर्ने टिप्पणी गरे ।
