आम निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले ३४ स्थानमा जीत हासिल गर्दा १२ सिटमा अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार रुपन्देही १ मा छविलाल विश्वकर्माको अग्रता छ ।
यस्तै मोरङ १ मा घनश्याम खतिवडा, तेह्रथुममा विजय सुब्बा, इलाम १ मा महेश बस्नेत, पाल्पा १ मा नारायणप्रसाद आचार्य, काभ्रे १ मा रेशमबहादुर लामा, इलाम २ मा सुवासचन्द्र नेम्वाङ्ग, मोरङ २ मा ऋषिकेश पोखरेल, रुपन्देही २ मा विष्णुप्रसाद पौडेलको अग्रता छ ।
यस्तै सुनसरी २ मा भीमप्रसाद आचार्य, कपिलवस्तु ३ मा मंगलप्रसाद गुप्ता, सुनसरी ३ मा भगवती चौधरी र सुनसरी ४ मा जगदीशप्रसाद कुसियैतको अग्रता छ ।
उता,समानुपातिक तर्फको मतगणना कार्यपनि जारी रहेको छ । हालसम्म समानुपातिकतर्फ कूल ३९ लाख ५४ हजार ७७२ मत गणना भएको छ जसमध्ये सर्वाधिक १० लाख ५५ हजार ७५० मत पाएर एमाले पहिलो स्थानमा रहेको छ ।
दोश्रो स्थानमा रहेको कांग्रेसले १० लाख १० हजार ७७१ मत पाएको छ भने तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ९६ हजार ५३५ मत पाएको छ ।
चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख ६६ हजार २२९ मत पाएको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ०६४ मत पाएको छ भने छैटो स्थानमा रहेको जसपा नेपालले १ लाख ३१ हजार २२५ मत पाएको छ ।
अहिलेसम्मको गणनाका आधारमा यी दलहरूले मात्र ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् । माथि उल्लेख गरिएको मतका आधारमा समानुपातिक तर्फको ११० सिट बाँडफाँट गर्दा एमालेले सबैभन्दा धेरै र सबैभन्दा कम जसपा नेपालले पाउने देखिन्छ ।
एमालेले समानुपातिकबाट ३४ सिट पाउने देखिन्छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले ३२ सिट पाउने देखिन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिट, माओवादी केन्द्रले १५ सिट, राप्रपाले ८ देखि ९ सिट र जसपा नेपालले ४ सिट पाउने देखिन्छ ।
समानुपातिक तर्फको मतगणना कार्य जारी रहेकोले माथि विभाजन गरिएको सिट संख्यामा सामान्य हेरफेर हुन सक्नेछ ।
