प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा कतिपय दल आपसमा प्रतिस्पर्धा गरिरहेका छन्। यो खबर तयार पार्दासम्म पहिलो स्थानमा रहेको नेकपा एमालेले २३ लाख ८ सय ९६ मत ल्याएको छ। एमालेसँग सुरुदेखि नै नेपाली कांग्रेस निकटतम प्रतिस्पर्धी बनिरहेको छ।
कांग्रेसले अहिलेसम्म २२ लाख १ हजार ७ सय ९४ समानुपातिक मत ल्याएको छ। यसअघि यी दुई दलले लाखका हिसाबले बराबर पनि भएका थिए। अहिले भने एमालेले कांग्रेसलाई एक लाख मतान्तरले नै जितेको छ।
यस्तै नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी पनि एकअर्काका निकटतम प्रतिस्पर्धी भइरहेका छन्। सुरुवातीमा माओवादी केन्द्रभन्दा अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय भने माओवादी केन्द्रभन्दा पछाडि परिरहेको छ। तर लाखका हिसाबले दुवै दल ९ लाखका उक्लिएका छन्।
यो खबर तयार पार्दासम्म माओवादी केन्द्रले ९ लाख ६५ हजार ३ सय ४५ समानुपातिक मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७ सय ६० मत पाइसकेको छ।
यसैगरी जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पनि समानुपातिकमा एकअर्कासँग टक्करमा छन्। यो खबर तयार पार्दासम्म दुवै दल २ लाखमा उक्लिएका छन्। तर जनमत पार्टीलले २ लाख २१ हजार ४ सय २७ र एकीकृत समाजवादीले केही कम २ लाख २० हजार ५ सय २८ मत पाएका छन्।
अहिलेसम्म समानुपातिक सदर मत ८३ लाख ६३ हजार ६ सय ८३ गनिसकिएको निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ कम्तीमा एक सिट जितेको राजनीतिक पार्टीले समानुपातिक मत कूल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएमा राष्ट्रिय दलको मान्यता पाउँछन्।
कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकामा ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसमा ३ लाखजति मत बदर भएको अहिलेसम्मको अनुमान छ।
यस हिसाबले सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन जान्छ। यसको ३ प्रतिशत थ्रेस होल्ड ३ लाख २० हजार हुन्छ। अहिलेलाई प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले ३ लाख २० हजार मत कटाएमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ।
यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।
