काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन् । बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आह्वान गरेको छ ।
उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ । खाली गराएको जानकारी यस प्राधिकरणलाई गराउन समेत उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘त्यसरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’
उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ ।
प्राधिकरणले अनधिकृत संरचना ३५ दिनभित्र नहटाए हटाउँदा लागेको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ।
उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि काठमाण्डौ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ ।
सोमबार काठमाण्डौको थापाथली सुकुम्वासी बस्तीमा काठमाण्डौ महानगर तथा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो । महानगरको नगरप्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्वासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए ।
यसअघि वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती सुकुम्वासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो । तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्वासी बस्तीमा पुगेको थियो ।

