काठमाडौं – प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । बिहीबार बिहान ६ः५० सम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ ।
एक करोड एक लाख ७५ हजार ८९५ मतगणना हुँदा एमालेले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । उसले ११ लाख ५३ हजार ५१६ मत प्राप्त गरेकोछ ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार ७९० मत पाउँदा पाचौँ स्थानको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार ४०६ मत पाएको छ ।
त्यस्तै जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ मत र जनमत पार्टीले ३ लाख ७६ हजार २११ मत पाएका छन्।
नेकपा एकीकृत समाजवादीले समानुपातिकमा ३ लाख मत पुर्याउन सकेको छैन। एकीकृत समाजवादीले हालसम्म २ लाख ९० हजार १९९ मत पाएको छ।
यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३९ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२ मत पाएको छ।
आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलन अनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।
यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।
राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।
प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।
