उपत्यका प्रहरी कार्यालय प्रमुखमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दिवेश लोहनीलाई सरुवा गरिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने गरी गृह मन्त्रालयले बुधवार उनलाई काज सरुवा गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
२०७९ कार्तिक २४ मा रवीन्द्र बहादुर धानुकले अवकाश पाएसँगै उपत्यका प्रहरी कार्यालयमा एआईजीको पद रिक्त छ । एआईजी लोहनी प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा कमान्ड गर्दै आएको छ । नेपाल प्रहरीमा अहिले ४ वटा एआईजीको दरबन्दी रिक्त छ ।
एआईजीका लागि सबैभन्दा रोजाईको पोष्टिङ यहाँ मानिन्छ। लोहनी आईजीपी धीरजप्रताप सिंहकै ब्याची हुन्। उनी चैतमा आईजीपीसँगै अवकाश हुनेछन्।
गृह मन्त्रालयले एआईजीको बढुवा गर्ने तयारी गरिरहेको छ । बढुवा हुन करिब एक दर्जन डिआईजी प्रतिस्पर्धामा छन् ।
