कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक परिवर्तनको एजेन्डा सकिएकाले अब मुलुकलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताएका छन्। शनिबार झापाको दमकमा आयोजित कार्यक्रममा उनले निर्वाचन परिणाममा पहिलो शक्ति बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए।
मुलुक रुपान्तरणका लागि सबै रुपान्तरित हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, ‘राजनीतिक परिवर्तनको एजेन्डा होइन। अब हाम्रो पूरै ध्यान सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्छ।’
झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने बताए । उनले भने, मैले यसअघि बारम्बार पार्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु भनेर प्रतिबद्धता जनाइसकेको छु।’
उता, नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री को बन्छ भन्नेबारे अहिले नै बोल्नु हतार हुने टिप्पणी गरेका छन् । शनिबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको तयारी गरेकोबारे पत्रकारको प्रश्नमा भण्डारीले यस्तो बताएका हुन् ।
‘संसदीय व्यवस्थामा सांसदहरुले प्रधानमन्त्री बनाउने हो, कसैले इच्छा राख्दैमा बनिहाल्ने होइन’–गुल्मी १ बाट नवनिर्वाचित सांसद भण्डारीले भने, ‘पार्टीभित्र सभापति शेरबहादुर देउवा र गठबन्धनका प्रचण्ड र माधव नेपालसंग पनि छलफल गरेर निर्णयमा पुग्ने हो, अहिल्यै बोल्न हतार हुन्छ ।’
नेता भण्डारीले सरकारमा को जाने भन्ने भन्दा कस्तो सरकार बनाउने भन्नेमा ध्यान जानुपर्ने बताए । महाधिवेशनपछि पार्टीमा आफ्नो विचार समुहले पुस्तान्तरणको सवाल उठाएको उल्लेख गर्दै पार्टीभित्र छलफल गरेर प्रधानमन्त्रीको उम्मेदवारबारे टुंगो लाग्ने बताए । ‘उमेर भन्दा विचारले नेतृत्व गर्ने हो’ भण्डारीले भने ।
उनले मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि सबै दल एक ठाउंमा आउनुपर्नेमा जोड दिए ।
