देशभर तापक्रम आरोलो लागिरहेको छ। यसै क्रममा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्रीबाट पनि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाले दिएको जानकारीअनुसार आज काठडमाडौँ उपत्यकाको तापक्रम ६.८ डिग्री सेल्सियस छ। हिजो आइतबार उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो।
मौसमविद् झाले काठमाडौँ उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको जानकारी दिए। चिसोबाट बच्न महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत जारी गरेको छ।
जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।
मौसमविद् झाले देशभर आज कतै वर्षा र हिमपातको सम्भावना नरहेको बताए। मौसम महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) प्रदेश १ को पहाडी भेग तथा उच्च पहाडी र हिमाली भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।