काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि आज सोमबार पहिलोपटक सत्ता गठबन्धनको बैठक बस्दैछ । चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको ह्यो ।
दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति हुन बाँकी छ । गठबन्धनभित्र सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अरु दलको समीकरण सक्ने विश्लेषण हुँदै आएको छ ।
चुनावी नतिजा सन्तोषजनक नभएको सत्ता गठबन्धनका नेताहरुले बताउँदै आएका छन् । केही ठाउँमा अन्तर्घात भएको आरोप–प्रत्यारोप पनि भइरहेको छ ।
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १८ स्थानमा विजयी भएको छ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ।
