राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथर जिल्ला कार्य समितिले गत निर्वाचनमा जिम्मेवारी पूरा नगर्ने, अन्तरघात गर्ने नेता, कार्यकर्तामाथि छानबिन गरी कारबाही गर्ने भएकाे छ । फिदिममा सम्पन्न जिल्ला समीक्षा भेलाले पार्टी हितविपरीत कार्य गर्नेलाई कारबाही गर्ने निर्णय गरेकाे हाे ।
जिल्ला अध्यक्ष कमलबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भेलाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहयोग गर्ने मतदाता, पार्टीका सहयोगी, शुभेच्छुकहरुलाई धन्यवादसमेत दिएकाे छ ।
अध्यक्ष चेम्जोङले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनअनुरुप जिल्ला मातहतका संगठनहरू गठन वा पुनर्गठन गर्ने, प्रशिक्षणलगायत नियमित कार्यक्रमहरू संचालन गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी पुस १५ भित्र जिम्मेवारी सम्पन्न गर्ने गरी वडा तहसम्म टोलीहरू परीचालन गर्ने निर्णय भएकाे छ ।
जिल्ला उपाध्यक्ष प्रयागराज सुवेदीले सहभागीहरूलाई स्वागत गर्दै देशव्यापी रूपमा राप्रपाले फड्को मारेको बताए भने जिल्ला सहसचिव संजिव जोशीले राप्रपामा युवा पुस्ताको आकर्षण बढेको दाबी गरे ।
