नेकपा एमालेले समानुपातिक सांसद चयन गरेको छ। समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको सो पार्टीले ३४ जना सांसद चुनेको हो।
आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा चुनिएका छन्।
त्यस्तै, खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल छानिएका छन्।
थारु क्लस्टरबाट आश्माकुमारी चौधरी र शान्ति चौधरी चयन भएका छन् भने दलिततर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राणा बराइली र हर्कमाया विश्वकर्मा छनोट भएका छन्।
मधेशीतर्फ गंगाप्रसाद यादव, अमृतराज लालवंशी, वीना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया र मुस्लिमतर्फ सराज अहमद फारुखी निर्वाचित भएका हुन्।
त्यस्तै, नेकपा (एमाले)ले घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेको भन्दै भुसाल र साहलाई हटाएको हो।
उनीहरु दुवै एमालेको स्थायी समिति सदस्य थिए। भुसाललाई टिकट नदिइएपछि उनले चुनावअघि नै पार्टी छाडेका थिए भने साहले टिकट बाँडफाँटमा असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए।
त्यसैगरी बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाटीलाई पनि हटाएको उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ। चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले जनाए।
एमालेले निर्वाचन विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरुलाई पनि कारबाही गर्ने तयारी रहेको जनाएको छ।
