काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय समिति बनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा प्रकाश स्नेही र पुष्पा भुसाल सदस्य रहेको समिति बनाएको हो ।
संसदीय दलको नेताको चुनावको मिति तोक्ने र चुनाव गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, शेखर कोइराला, गगन थापालगायत आकांक्षी छन् ।
बैठकले प्रदेशसभामा दलको नेता चयनको निर्वाचन अघि बढाउनका लागि प्रदेश समितिहरुलाई निर्देशन पनि दिएको छ ।
‘संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति बनाइएको छ’, उनले भने, ‘सह-महामन्त्री भीस्मराज आङ्देम्बे संयोजक रहेको समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य रहनु भएको छ।’
महतले मंगलबार बिहान निर्वाचन हुन सक्ने बताए। ‘पर्सि बिहानसम्म निर्वाचन हुन सक्छ। नभए निकोर्सि निर्वाचन गर्छौँ’, उनले भने, ‘सकेसम्म सर्वसम्मत हुन्छ नभए निर्वाचन प्रक्रिया छँदैछ।’
त्यस्तै, कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन अहिले सत्तारूढ गठबन्धनमा रहेका र बाहिरका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतको सरकार बनाउन सत्ता गठबन्धन बाहिर रहेका दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्रधानमन्त्री बन्ने इच्छा र मनसाय प्रकट गरेको भए पनि कांग्रेस ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय भएको महतले बताए।
‘उहाँ (प्रचण्ड) ले इच्छा र मनसाय प्रकट गर्नुभएको छ तर कांग्रेस सबैभन्दा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छ,’ महतले भने।