बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको छ। बुधबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलहरूको शीर्ष नेताहरूको बैठक बसेको हो।
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
न्यूनतम साझा कार्यक्रम ल्याउने, समसामयिक राजनीतिलगायत विषयमा उनीहरूबीच छलफल भएको हो।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन। कसले कुन मन्त्रालय लिने भन्नेबारे पनि छलफल हुने सम्भावना छ।
राप्रपाले समर्थन दिए पनि बाहिरै बस्ने निर्णय लिएको छ। उता जसपाले सरकारको नीति तथा कार्यक्रम र शक्ति बाँडफाँटका आधारमा मन्त्री पठाउने निर्णय लिने भएको छ।
राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्रीमासमेत दाबी गरिरहेको छ। केही प्रदेशमा सरकार बनाउन निर्णायक राप्रपालाई संघीय सरकारमा पनि ल्याउने कोसिस भइरहेको छ।
उता जसपाले मधेश प्रदेश सरकारको नेतृत्व र अन्य पदमा बार्गेनिङ गरिरहेको छ। बुधबार मात्रै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबार बोलाएर विश्वासको मत दिन भनेका थिए।
प्रचण्ड नेतृत्वको सरकारलाई अहिले सात दलका १६७ जना सांसदको साथ छ। त्यस्तै अन्य दुईजना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन्।
