प्रदेश एकका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका दुई र एमालेका एक गरी थप तीन जना मन्त्री नियुक्त गरेका हुन्।
माओवादीबाट मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं तथा एमालेबाट सोलुखुम्बु १(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारी मन्त्री भएका हुन्।
उनीहरूले पद तथ गोपिनयताको शपथ लिएका छन्। यसअघि गत सोमबार प्रदेश १ मा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। यो सँगै प्रदेश १ मा ७ सदस्यीय मन्त्रिपरिषद् भएको छ।
आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाईँ हुन् । जुनियर भएको भन्दै आचार्यलाई प्रदेशको नेतृत्वले मन्त्री बनाउन नखोजेपनि हाइकमाण्डको निर्देशनमा उनी नियुक्त भएको माओवादीका एक नेताले बताएका छन् ।
नयाँ तीनैजना मन्त्रीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ । यसअघि मुख्यमन्त्रीसँगै शपथ लिएका तीनजना मन्त्री पनि विनाविभागीय छन् ।
एमालेका तीलकुमार मेन्याङ्बो (ताप्लेजुङ), राप्रापाका भक्तिप्रसाद सिटौला (झापा) र जसपाकी निर्मला लिम्बू (ताप्लेजुङ) लाई यसअघि मन्त्री बनाइसकिएको छ ।
यसैबीच मुख्यमन्त्री कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।
९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सहित मुख्यमन्त्री कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ। प्रतिपक्षमा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।
