रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा बस्ने या हट्नेबारे दुई दिनपछि मात्रै निर्णय लिने भएको छ।बिहीबार साँझसम्म बसेको बैठक तत्काल सरकार नछोड्ने निष्कर्षमा पुगेको हो।
बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले दुई दिनको समय माग गरेकाले उनीहरुको आग्रह बमोजिम दुई दिनको समय दिइएको रास्वपाका प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले बताए।
गृह मन्त्रालय दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए ।
दुबै नेताले २ दिनको समय मागेकाले पर्खिनो निर्णय गरेको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटेका थिए । तर प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।
रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट फिर्ता आउने चेतावनीसमेत दिएको थियो । वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।
माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएको हो।
अदालतको आदेशपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए।
गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन: प्राप्त गरेका लामिछानेले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका थिए।
गैरसांसदलाई पनि ६ महिनासम्म मन्त्री बनाउन मिल्ने संविधानको व्यवस्थाअनुसार आफू मन्त्री बन्नु पर्ने लामिछानेको भनाइ थियो। रास्वपाले पनि यसअघिको सहमतिअनुसार गृहमन्त्री आफ्नो दल नै पाउने भएकाले गृहमन्त्री नपाए सरकार छोड्ने चेतावनी दिएको थियो।
एमाले अध्यक्ष ओली गृहमन्त्री रास्वपालाई दिने पक्षमा भए पनि प्रधानमन्त्री प्रचण्डले भने नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउन चाहेका छन्।
