सर्वोच्च अदालतले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दा दर्ता गर्न आदेश दिएपछि त्यसको परकम्प माओवादी धारमा देखिएको छ।
विस्तृत शान्ति सम्झौता हुँदै ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट संसदीय राजनीतिमा प्रवेश गरेयता माओवादीमा कयौँ पटक विभाजन आइसकेको छ।
प्रचण्डलाई छाडेका नेताहरुमै पनि विभाजन आएर कयौँ टुक्रा भएका छन्। तर प्रचण्डका हिजोका सहयात्रीहरुलाई १९ फागुनको सर्वोच्चको आदेशले एकै ठाउँ ल्याइदिएको छ।
प्रचण्डविरुद्धको द्वन्द्वकालीन मुद्दा सबै धारका माओवादीहरुलाई एकै ठाउँ उभिने अवस्था ल्याइदिएको हो। त्यहीअनुसार उनीहरु सोमबार बालुवाटारमा जुटेका हुन्।
उनीहरुले युद्धकालीन मुद्दालाई अगाडि बढाउन नहुने बताउँदै शान्ति सम्झौताअनुसार सबै विषयको निरूपण हुनुपर्ने निर्णय पनि गरेका छन्।
मंगलबार (२३ फागुन) मा प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन माओवादीमा रहेर अहिले विभिन्न पार्टी गठन गरेका नेताहरु एकैठाउँमा जम्मा भएका हुन्।
उनीहरुको निष्कर्ष छ, युद्धकालीन मुद्दाहरुको सम्बोधन सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिक खोजबिन आयोगबाटै टुंगो लगाइनुपर्छ।
यसअघि माओवादी धारका नेताहरु २१ फागुनमा एउटै मञ्चमा जुटेका थिए। सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा गरेको अन्तरक्रियामा प्रचण्डसहितका माओवादी धारका नेता जुटेका थिए।
त्यहाँ पनि उनीहरुले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्दा चलाउन खोजिए उनले यस्तो चेतावनी दिएका हुन्।
उक्त कार्यक्रममा बोल्ने सबै नेताहरुले युद्धकालीन मुद्दालाई विभिन्न नाममा अदालतको क्षेत्राधिकारभित्र पारेर षडयन्त्र गर्न खोजिए चुप नबस्ने चेतावनी दिएका थिए। कार्यक्रममा नेकपा महासचिव विप्लवले यदि द्वन्द्वकालीन मुद्दा ब्युँताए प्रतिकारमा उत्रिने बताए।
सर्वोच्च अदालतले दिएको आदेश अनुसार प्रचण्डमाथिको मंगलबार दर्ता भएको छ। यदि त्यसो भएको खण्डमा के कार्यक्रम गर्ने? माओवादी धारका नेताहरुले यसैबारे छलफल गरेका हुन्।
नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक खोजबिन आयोगले काम नगरी ढिलासुस्ती भएको अहिले ती कुरालाई अदालतमा लग्नु गलत भएको बताए।
उनले जस्तोसुकै परिस्थितिका लागि तयार रहेको निष्कर्ष सुनाए। ‘विगतमा संसदवादी पार्टी (७ दल) र माओवादीबीच भएको सहमति (१२ बुँदे), संविधान बनाउँदा भएको सहमति र सोही अनुसार जनयुद्धकालीन मुद्दाहरुको टुंगो लगाउन सत्य निरुपण र मेलमिलाप आयोग, वेपत्ता नागरिक खोजविन आयोगको क्षेत्राधिकार नाघेर अदालतमा लग्ने कुरा स्वीकार गर्न सकिँदैन,’ बास्तोलाले मंगलबारको छलफलको निष्कर्ष सुनाउँदै नेपालखबरसँग भने, ‘हामी माओवादी धारका सबै ८ दल नै एकै ठाउँमा उभिन्छौँ।’
उनका अनुसार मुद्दाहरुको छिटो टुंगो लगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।
