काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकले पुरुषलाई उठाउन खोज्ने कुरा संविधानको मर्म विपरित भएको ठहर गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ । उपराष्ट्रपति पदका लागि चैत ३ गते निर्वाचन हुँदै छ ।
६८ वर्षीया अष्टलक्ष्मी शाक्य २०१० सालमा काठमाडौंको नेवार परिवारमा जन्मेकी हुन् । दशैंको अष्टमीको दिन जन्मेकाले उनको नाम अष्टलक्ष्मी राखिएको उनी आफैंले बताउने गरेकी छन् । २०२९ सालमा एसएलसी पास गरेकी अष्टलक्ष्मी २०३६ सालमा घर छोडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ परिन् र पछि अखिल नेपाल महिला संघको अध्यक्ष समेत भइन् । शाक्य निरन्तर रुपमा पार्टीमा सक्रिय महिला नेतृ मध्येमा पर्छिन् ।
शाक्य २०५६ साल र २०७१ सालमा भएको संविधानसभा चुनावमा सांसदमा निर्वाचित भएकी थिइन् । यसअघि दुईपटक मन्त्री भइसकेकी शाक्य गत २०७४ सालमा भएको प्रदेश सभामा काठमाडौ निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित भएकी थिइन् ।
उक्त निर्वाचन लगत्तै मुख्यमन्त्रीमा दावी गरेकी शाक्यलाई त्यसबेला एमालेको भागवण्डा नमिल्दा डोरमणि पौडेल मुख्यमन्त्री बनेपछि उनी प्रदेशसभा सदस्यमा सिमित बनेकी थिइन् । पञ्चायतकालमा झण्डै ११ वर्षसम्म भूमिगत जीवन बिताएकी शाक्यले २०३७ सालमा पार्टीकै नेता अमृतकुमार बोहोरासँग विवाह गरेकी थिइन ।
