टिष्टुङको पहिचान : बज्रवाराही मेला

रामजी बलामी

नेपालमा प्रशिद्ध चार वाराहीमध्ये टिष्टुङको वाराही पनि एक हो । यहाँको वाराहीलाई अन्य ठाउँको वाराहीको आमा भन्ने जनश्रुँती पनि पाईन्छ । बज्रवाराहीलाई स्थानीय भाषामा बाराही द्यो भनिन्छ । नेवार भाषामा द्यो भनेको देवता हो । बज्रवाराहीलाई अजिमा देवीका रुपमा पनि लिईन्छ ।

बज्रवाराही माईको तीन वर्षे जात्रा
बज्रवाराही अजिमा यहाँको प्रमुख संरक्षक देवता हुन् भने बज्रवाराही जात्रा यहाँको पहिचान बोकेको प्रमुख जात्रा हो । यो जात्रा तीन बर्षको अन्तरमा तीन दिनसम्म मनाईन्छ । बैशाख पूर्णिमापछि आउने सबैभन्दा पहिलो शनिवार पारेर यो जात्राको सुरुवात गरिन्छ । कोरोना भाइरसका कारण यसपटक ६ वर्षपछि आगामी २३ बैशाखबाट यो जात्रा शुरु हुँदैछ ।

यो गणेश, कुमारी, वाराही, इन्द्रायणी र भैरवको संयुक्त जात्रा हो । साथमा बेताहा पनि हुन्छ तर बेताहालाई देवता मानिदैन । भैरब र बाराही महर्जन समुदायका हुन्छन्, ईन्द्रायणी र गणेश श्रेष्ठ समुदायका हुन्छन् भने कुमारी गोपाली समुदायका हुन्छन् । टिष्टुङका अन्य समुदायले भने सहयोगीको भूमिका निभाउछन् । जात्रामा यहाँका सबैले आ–आफ्नै भेषभुषा, संस्कृति र बाजागाजाका साथ रमाईलो गरी सहभागिता जनाउँछन् । जात्रा संचालन र ब्यवस्थापनका लागि १३ वटा गुठीहरु समेत संचालनमा छन् । एउटा गुठी नेपाल सरकारका नाममा समेत संचालित छन् । गणेश गुठी, कुमारी गुठी, बाराही गुठी, ईन्द्रायणी गुठी, भैरव गुठी, बाजा ब्यवस्थापन गुठी लगायतका गुठीहरु छन् ।

यो जात्रामा काठमाडौंका शाक्य समुदायको समेत उपस्थित रहेको छ । राजा त्रिभुवनको धाई आमा सदानन्द कुमारी ठकुरी यही क्षेत्रको रहेको पनि भन्ने गरिन्छ । यसैकारण काठमाडौका शाक्य समुदायलाई यो जात्रामा सखरको सर्वत खुवाई दिन अनुरोध भए पश्चात यो जात्रामा सर्वत खुवाउन काठमाडौंबाट शाक्य समुदाय जाने गरेको पनि ऐतिहासिक लेखहरुमा पढ्न पाईन्छ ।

जात्राका बेलामा वाराही पिठमा बली दिनका लागि पहिले नै दुई वटा राँगा खुल्लारुपमा छाडिएको हुन्छ । यसरी छाडिएको राँगालाई कुट्न, लखेट्न र थुन्न हुँदैन भन्ने मान्यता छ । यसरी छाडा छाडिएका राँगाहरु जहाँ पुगे पनि स्थानीयले पिठो लगायतका खानेकुरा खुवाएर पठाउने गर्छन् ।

बाराहीको ठूलो चौरमा मेला लाग्ने भएकाले यो मेलाले ब्यापारिक महोत्सवकै झल्को दिलाउछ । बाराही जात्राको बेलामा हुरीबतास चल्छ भन्ने आम बिश्वास छ ।

जात्राको साता
जात्रा शुरु हुनुपूर्व पुजारीहरुले एक साता अघिदेखिको आईतबारदेखि बिहिबारसम्म मध्यरात मन्दिरमा (पिठ)मा गई पूजा गर्नुपर्छ । जसलाई चा पूजा भनिन्छ । चा भनेको नेवार भाषामा रात हो । यसरी चा पूजा अर्थात रात पूजा गर्न जानेहरु दुबै जनाले घर नफर्केसम्म एकअर्कासँग बोल्न हुँदैन र पछाडि फर्केर पनि हेर्नु हुँदैन भन्ने मान्यता छ । त्यसको भोलिपल्ट अर्थात शुक्रबार दिउँसो देवीको पूजा गरिन्छ ।

पहिलो दिन
जात्राको पहिलो दिन शनिवार पूजारीले पाल्चोकमा बली फाल्ने पूजा र तलेजु मन्दिरको पूजा गर्छन् । त्यसपछि दुई वटा राँगा पन्छाउने काम हुन्छ । आगम घरमा खँ द्य को पूजा गरिन्छ । यसै क्रममा इकुटोलबाट गणेशको पूजा र भेलु ल्याईन्छ । पापुङबाट कुमारीको पूजा र भेलु ल्याईन्छ । पाल्चोकबाट बज्रवाराहीको पूजा र भेलु ल्याईन्छ । पुजारी टोलबाट इन्द्रायणीको पूजा र भेलु ल्याईन्छ । धामीको घरबाट भैरवको पूजा र भेलु ल्याईन्छ । यसरी ल्याईएका सबै पूजा र भेलुहरुलाई भैरब खटमा राखिन्छ । देउला समुदायले पनि बज्रवाराही देवीलाई सुंगुरको बली दिई उक्त खटलाई भैरव खटमा लगिन्छ ।

यता आगममा पूजारीले तान्त्रिक बिधिबाट पूजा गर्छन् । यसरी पूजा गरी देखा लिएका कर्माचार्यहरुलाई खड्क दिईन्छ । यसरी खड्क दिँदा जसलाई देवता चढ्छ ऊ नै खः द्यो बन्न पाउँछ । यसरी खः द्यो चयन भएपछि उसले सेतो जामा र सेतो बेताली लगाएर खड्क बोकी काम्दै बाहिर निस्कन्छन् । यसरी निक्लेको खः द्यो लाई मल्ल र ठकुरी समुदायले अबिरले पूजा गर्ने चलन छ । त्यसपछि मात्रै खः द्यो भैरब खटतर्फ जान्छन् । भैरब खटमा ५ देवता गणेश, ईन्द्रायणी, कुमारी, बज्रबाराही, भैरवको पूजा र ध्वजापटाका (भेलु) सहित रथ (खट) बोक्नेहरु प्रतिक्षारत हुन्छन् । खःद्यो त्यहाँ पुगेपछि बज्रवाराहीको जयजयकार गर्दै पूजा, रथ र भेलुलाई मन्दिर (पिठ) तर्फ लगिन्छ ।

रथ लगेको हेर्न यहाँका सबै गाउँका स्थानीयहरु बाटोमा निस्कन्छन् । रथलाई पुज्छन् र ढोक्छन् । सक्नेहरु रथ बोक्न अग्रसर हुन्छन् । यो रथ पिठसम्म लैजाने पनि छुट्टै बाटो छ । पछि बनेको सडकबाट नभएर खेतको डिल हुँदै स्वास्थ्यचौकी भवनबाट घुमाएर वाराहीचौर हुँदै पिठसम्म पु¥याईन्छ । खट पिठमा पुग्नुअगावै बाटोमै द्वारभैरवको पूजा गरिन्छ ।

पहिलो दिनको मध्यरातमा विशेष पूजा गरिन्छ । यो पूजा गरेको हेर्नका लागि धेरै मान्छे राती नै उठेर मन्दिर जाने गर्छन् । यो पूजा अन्तर्गत शुरुमा देउला समुदायले ल्याएको पूजा गरिन्छ जसलाई सरकारी पूजाको रुपमा लिईन्छ । यो पूजामा सर्प, भ्यागुतो, हाँस, भेडा, किरा फट्याङग्रा, माछा, चरा, भाले, बोका र राँगा लगायतको बली दिईन्छ ।

यसरी बली दिनका लागि हरेक जीवको भालेपोथी जोडी नै पीठमा लगिन्छ । तर भालेलाई बली दिईन्छ भने पोथीलाई त्यतिकै मन्दिरस्थलमा छाडिन्छ । यो पूजालाई नरवलीको सट्टामा गरिएको पूजा पनि भन्ने गरिन्छ ।

योसँगै अन्य विभिन्न पूजाहरु पनि यही मध्यरातमा गरिन्छ । यो पूजा सकेपछि सबै गुठीयार र पुजारीहरु बसी सामुहिक भोज खाईन्छ । यो भोज पनि खाँदै रोक्दै बिशेष प्रकारले खाने गरिन्छ । यो भोज बाजाको ताल र पुजारीहरुको निर्देशन अनुसार रोक्दै खाँदै गर्नुपर्छ । पुजारीहरु र अन्य गुठीका सदस्यहरु छुट्टाछुट्टै बसेर एकैसाथ यो भोज खाने चलन रही आएको छ ।

देस्रो दिन
यसको भोलिपल्ट अर्थात आईतबारको दिनलाई जात्राको मुख्य दिन मानिन्छ । शरिरले बाटो नाप्दै जानेहरु यो दिन बिहान २÷३ बजेदेखि नै नाप्दै जान्छन् जसलाई नेवारीमा ‘म्ह कु दा वन्यउ’ भनिन्छ । यसरी जाने मान्छेहरु हिड्न हुँदैन । उनीहरु आफ्नो घरको ढोकादेखि नै शरिरले बाटो नाप्दै मन्दिरसम्म जानुपर्छ । उनको साथमा चेलीबेटी र केही सहयोगीहरु हुन्छन् । उनीहरु बिहान छिटोमा ५ बजे र ढिलोमा ८ बजेभित्र मन्दिर पुगिसकेका हुन्छन् । यो हेर्नका लागि बिहान झिसमिसेमा नै सडकमा निस्किनुपर्छ ।

यसरी जानेहरु मध्ये घर नजिक भएका र बलियो मानिसहरु चाँडै बाराहीको पिठ पुग्छन् भने घर टाढा भएका र अलि कमजोर मानिसहरु अलि ढिला पिठमा पुग्छन् । शरिरले बाटो नाप्दै गएर पिठसम्म पुग्दा त्यो ब्यक्तिको हातले मुर्तीमा ठ्याक्कै मिल्ने गरी छोयो भने कर्मसिद्धि भएको मानिन्छ । मुर्तीलाई छोएन अथवा छोएर हातको लम्बाई बढी भयो भने फेरि अर्काे पटक त्यसरी नै शरिरले बाटो नाप्दै जानुपर्छ भन्ने मान्यता छ ।

जात्राको दोस्रो दिन बिहान झिसमिसेदेखि नै बली दिन सुरु हुन्छ । शुरुमा कुखुराको बली पूजा हुन्छ । कुखुराको बली दिन आचाजु चाहिँदैन, अरु व्यक्तिहरुले पनि दिन मिल्छ । बिहान करिव ११ बजेसम्ममा कुखुराको बली पूजा सकिन्छ । कुखुराको बली पूजा सकेपछि बोकाको बली पूजा शुरु हुन्छ । यो दिन बली दिईएका बोकाहरुको टाउको यही छोड्नुपर्छ ।
लाखबत्ती बाल्नेहरुले पनि यही दिन बाल्ने गर्छन् । त्यस्तै पञ्चबली दिनेहरुले पनि यही दिन पूजा गर्छन् । पञ्चवलीमा बोका, हाँस, भाले, राँगा र भेडाको बली दिईन्छ । यही दिन तीन बर्ष अघिदेखि भाकल राखेकाहरुले समेत बली पूजा गर्छन् । मन्दिरमा पशुपंक्षी मात्रै होईन फलफूल पनि उत्तिकै चढाईन्छ । पिठमा बली दिएको टाउकोले जतिधेरै स्थान ओगट्छ त्यति नै जात्रा भब्य भएको मानिन्छ । यो दिन मुख्य पूजा भए पनि प्रसाद भने लिनु हुँदैन ।

पूजा सकिएपछि अघिल्लो राती बली दिईएका दुई वटा राँगाका मुटुहरु र बोकाको टाउको यज्ञमा होमिन्छ । बिशेष मन्त्रोच्चारण गर्दै यज्ञ गर्ने चलन छ । यो यज्ञ पश्चात बाराहीको शक्ति पिठमा बली दिईदैन ।

तेस्रो दिन
जात्राको तेस्रो अर्थात अन्तिम दिन सर्वप्रथम पिठमा बली दिई छाडिएका जीवहरुको टाउको संकलन गरिन्छ । त्यसपछि देवतालाई फूलपातीले छोप्ने र त्यसमाथि मासु र भातले छोप्ने चलन छ । त्यही मासु र भातलाई देवता फर्काउनुअघि प्रसादका रुपमा बाँडिन्छ । प्रसाद लिनेहरुको भिड हुने भएकाले पुजारीहरुले माथि माथिसम्म फाल्ने र टाढा टाढासम्म प्mयाँकेर प्रसाद दिने गर्दछन् । धार्मिक आस्था र मान्यता अनुसार यो प्रसाद खाँदा स्वस्थ्य हुने र रोगव्याधी भए निको हुने आम विश्वास छ ।

यो दिनमा खुवाइने जाँड पहिले देउला समुदायले खान्छन् र त्यही जुठो जाँड देवताहरुलाई खुवाईन्छ । त्यो जाँड पछि अन्य सर्वसाधारणलाई पनि बाँड्ने चलन छ । त्यसो त जात्रा अवधिभर विभिन्न गुठीमा प्रसादस्वरुप जाँड खुवाउने चलन छ । यावत काम सकिएपछि बज्रवाराही देवीको खटमा धामी र बज्रवाराही अजिमाको प्रतीकका रुपमा एक जना देउला समुदायका ब्यक्ति बस्छन् । खटलाई उठाएर तीन पटक पीठमा जयजयकारसहित परिक्रमा गराईन्छ । यति बेलाको माहोल एकदमै रमाईलो, रोचक र हेर्नलायक हुन्छ ।

रथ बोक्नका लागि विभिन्न टोलका मानिसहरुको हारालुछ हुने गर्छ । कहिलेकाँही रथ बोक्ने बिषयमा युवाहरुबीच झगडा समेत हुने गर्छन् । रथलाई पिठबाट घरमा फर्काउँदा निकै रमाईलो हुने गर्छ । रथ हेर्नेहरु रथ सँगसँगै घर फर्किन्छन् ।
यसरी फर्काइने खट सबैभन्दा पहिले देउलाटोलमा लगिन्छ । त्यहाँ पूजा गरि बली दिईन्छ । त्यसपछि खटलाई भैरव, गणेश, पाल्चोक, थहचोक र बाराही खटहरुमा पूजा गरिन्छ । ति टोलहरुमा विभिन्न समुदायले पूजा गरी बली दिईन्छ । सबैतिरको पूजा सकिएपछि अन्त्यमा देउलाटोलमा नै ल्याएर जात्रा समापन गरिन्छ । सबैतिर घुमाएर खटलाई यहाँ ल्याएपछि ईकुन्डोल, लिलाखेल लगायत ठाउँका बलामीहरुले बोकाको बली चढाउँछन् । यतिबेला कम्तिमा बेलुकाको ८ बजिसकेको हुन्छ ।
यसरी तीन बर्षको तीन दिने जात्रा समापन हुन्छ । भोलिपल्ट बज्रबाराहीको प्रसादकारुपमा यहाँका प्रत्येक गाउँको घरघरसम्म प्रसाद पु¥याउने गरिन्छ ।

बज्राराही माईको उत्पत्तिका सन्दर्भमा स्थानीयमा विभिन्न जनश्रुतीहरु पाइन्छ । यहाँका स्थानीयका अनुसार त्यसबेला एक जना स्थानीय टिष्टुङको दक्षिण क्षेत्रमा रहेको बन (बाराही बन) मा गाईवस्तु चराउन गएका थिए । त्यसबखत ति गोठालोले एउटा किरा मारेर ढुंगामाथि राखेका थिए । त्यो ढुंगामा अचानक दैवी शक्ती उत्पन्न भयो । यो शक्ति गोठालोमा पनि देखियो । र, तिनै गोठालोले काम्दै उक्त ढुंगामा बज्रवाराहीको शक्ति उत्पन्न भएको भन्दै बोले । उनले बाराहीलाई नरबली दिनुपर्ने पनि बताए ।

उनको बोलीलाई अनुशरण गर्दै केही स्थानीयले त्यस ठाउँमा एक जना सुस्तमनस्थितीका बालकलाई बली दिईयो । बली दिएर मासु समेत पकाएको र मासु पकाउने भाँडो (खासी) अचानक गुल्टेर तल आईपुग्यो (हाल मन्दिर रहेको ठाउँ) । त्यसबेला बाराहीले मानव बली अस्विकार गरेको भन्दै पुजारीले आफ्नो औँला काटेर बली दिएको भन्ने कथन रही आएको छ । अहिले पनि बाराही बनको डाँडामा बाराहीको पूजा गर्न जाने चलन छ ।

बज्रवाराही माईको उत्पत्तिका सन्दर्भमा अर्काे एउटा जनश्रुँती पनि स्थानीयमा चर्चित छ । उक्त भनाइ अनुसार, एक दिन एक जना बृद्धा महिला गाउँमा बास माग्दै आइन् तर कुनै पनि बस्तीमा बास पाएनन् । ति बृद्ध महिला बास खोज्दै जाने क्रममा देउला टोलमा पुगिन् । त्यहाँ उनले ससम्मान बास पाइन् । आफूलाई बास दिने बृद्धा महिलाले घरमुलीलाई तान्त्रिक ज्ञान दिइन् । पछि तिनै बृद्धा महिला बाराही अजिमा भएको थाहा पाएपछि सबैले पुज्न थालेको स्थानीय बताउछन् । त्यतिबेला बाराही गाउँमा बस्न नमानेको र खोलाको किनारमा बस्न चाहेकाले नै अहिलेको स्थानमा बस्न दिइएको पनि भनिन्छ ।
आफूलाई बास नदिएपछि ति बृद्ध महिला (बाराही) ले टिष्टुङबासीलाई ‘दुई छाक खान पनि नटुटोस र सम्पन्न पनि नहोस्’ भनेर श्राप दिएको भन्ने मान्यता छ । त्यसो त यो क्षेत्रमा अझै पनि कपाल फुलेका बृद्धा नयाँ महिला देखा प¥यो भने बाराही आएको भन्ने चलन छ ।

त्यसबखत बाराहीलाई बास दिएकाले नै बज्रबाराहीको तीन बर्षे जात्रामा देउला समुदायको पहिलो र महत्वपूर्ण भूमिका रहेको भन्ने गरिन्छ । बाराही देवी रिसाएमा टिष्टुङमा प्राकृतिक बिपत्ती आउने, आगलागी तथा रोगको महामारी हुने जन–बिश्वास रही आएको छ । विगतमा यहाँको पापुङ गाउँमा भएको ठूलो आगलागी र विभिन्न प्राकृतिक प्रकोपहरुलाई वाराही रिसाउँदा भएको प्रकोपका रुपमा लिईन्छ । पापुङमा आगलागी हुँदा स्थानीयले निभाउन नसकेर राजधानी काठमाडौंबाट दमकल गएको थियो ।

बज्रबाराहीलाई त्रास निर्मुल पार्ने, हौसला दिने तथा शक्ति दिने देवताका रुपमा लिईन्छ । ने.सं. ८३२ मा राजा बिष्णु मल्लले यहाँ बज्रबाराहीको नाममा ढुंगाको मुर्ती राखेको बताईन्छ । बाराही पिठ भनिए पनि यहाँ बाराहीसँगै, गणेश, भैरव, ईन्द्रायणी, कुमारी लगायतका देवताहरुका मुर्तीहरु राखिएका छन् ।

त्यसो त यतिधेरै चर्चित, ऐतिहासिक र महत्वपूर्ण स्थल भएर पनि यो मन्दिर खुल्ला रुपमा रहेको छ । बाराहीका लागि कुनै मन्दिर बनाइएको छैन । एक जनश्रुती अनुसार बाराही अजिमा मन्दिरभित्र बस्न नचाहने भएकाले खुल्ला स्थानमा नै राखिएको हो ।

बज्रवाराहीको पिठमा टिष्टुङका स्थानीयले हरेक शनिवार पूजा गर्न जाने, हरेक बर्ष बली चढाउने जस्ता भाकलहरु नै राखेका हुन्छन् । यसका अलावा यहाँ हरेक तीन बर्षमा बज्रबाराही मेला लाग्छ जुन टिष्टुङको मुख्य मेला हो । त्यस्तै हरेक १२ बर्षमा बाराही नाच हुन्छ । यस्तै बली फाल्ने पूजा, बनवारा पूजा, छ्वो पूजा, वा पूजा लगायतका बिशेष पूजाहरु पनि हुने गर्छन्  ।

बज्रबाराहीमा पूजा गर्न र भाकल पुरा गर्नका लागि केन्द्रिय राजधानी काठमाडौं, प्रदेश राजधानी हेटौडा, छिमेकी जिल्लाहरु धादिङ लगायतका ठाउँहरुबाट दिनहुँजसो भक्तजनहरु आउने गर्दछन् । बज्रबाराही मन्दिरमा बिशेषतः मंगलबार र शनिवार भक्तजनहरुको भिड लाग्छ ।

बाराहीको पिठ हरियाली चौर, जंगल र खोलाको नजिकै गहिराईमा अवस्थित छ । वरिपरि हरियाली घना जंगल छ भने पिठ जाने बाटोमा ठूलो चौर छ । पिठको नजिकै बाह्रै महिना कलकल बग्ने बाराही खोला छ । यो खोलाको नाम पनि यही वाराही अजिमाको नामबाट ‘बाराही खोला’ नामाकरण गरिएको हो । टिष्टुङका विभिन्न क्षेत्रबाट आउने खोल्साहरु यही खोलामा आएर मिसिन्छ ।

मन्दिर पुग्न कुन्छाल–कुलेखानी सडकबाट बाराही चौरको बाटो हुँदै करिव १० मिनेट ओरालो झर्नुपर्छ । मन्दिर जाने दर्शनार्थीहरुको सुविधाका लागि पक्की गोरेटो बाटो निर्माण गरिएको छ । फराकिलो बाटो र पर्याप्त ठाउँ रहेकाले आवतजावत गर्न निकै सहज छ । धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय प्रकृतिमा रमाउन चाहनेहरुका लागि उत्तम गणतब्य हो, बज्रवाराही ।।

(लेखक टिष्टुङ चिनारी पुस्तकका लेखक हुन् ।) ९८४१०२१४०७

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको