काठमाडौं – सर्वोच्च अदालतले पोखराको फेवाताल किनार आसपासमा बनेका ४ सय ९३ वटा संरचना अवैध भएको ठहर गरेको छ । फेवातालको किनारबाट सीमा क्षेत्र ६५ मिटर कायम गर्दै सर्वोच्चले त्यहाँ बनेका सबै संरचना भत्काउन आदेश दिएको हो ।
सर्वोच्चले फेवा किनारदेखि ६५ मिटरसम्म एक हजार दुई सय रोपनी जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी संरचना हटाउन संघीय सरकार, पोखरा महानगरपालिका र सम्वद्ध निकायका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासले किनारदेखि ६५ मिटर परसम्मको भाग फेवातालकै भएको ठहर गरेको हो । अहिले ताल वरिपरि ६५ मिटरभित्र १२ सय रोपनी जग्गा व्यक्तिको नाममा छ । सर्वोच्च अदालतले २०७५ साल वैशाख १६ मै २०३० सालमा मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन आदेश दिएको थियो । तर सर्वोच्चको आदेश कार्यान्वयन गर्नुको साटो तत्कालीन महानगर प्रमुख मानबहादुर जिसी नेतृत्वको कार्यपालिका बोर्डले फेवा तालकै मापदण्ड घटाएर ३० मिटर बनाएको थियो ।
फेवा किनारमा ६५ मिटर सीमा क्षेत्रको मापदण्ड २०७६ सालकै हो । त्यसयता पनि सर्वोच्चको आदेश लत्याउँदै फेवा किनारमा संरचना बन्ने क्रम रोकिएको छैन । महानगरको अध्ययन टोलीले त्यसअघिका संरचना र जग्गाको मूल्य सरकारी मूल्यांकनअनुसार १० अर्ब र चलनचल्ती अनुसार ४० अर्बभन्दा बढीको निकालेको छ ।
तत्कालीन राजा वीरेन्द्रको पालामा २०३० साल मंसिर १५ गते पोखरा नगर योजनालाई स्वीकृत गर्दा सरकारले पहिलो पटक फेवातालको मापदण्ड तोकेको थियो । सर्वोच्चको मंगलबारको फैसलाले फेवाताल संरक्षणको बाटो खुलेको संरक्षणकर्मीले जनाएका छन् । अधिवक्ता खगेन्द्र सुवेदीले वाटर फ्रन्ट रिसोर्ट प्रालिका सञ्चालक कर्ण शाक्य तथा उनलाई फेवाताल मिचेर रिसोर्ट बनाउन अनुमति दिने सरकारी निकायविरुद्ध २०६८ सालमा रिट दर्ता गरेका थिए ।
महानगरपालिका प्रमुख धनराज आचार्यले सर्वोच्चको लिखित फैसला आएपछि कार्यान्वयन गर्ने जनाएका छन् ।
