मुलुकका कतिपय स्थानमा आज भारी वर्षा हुने भएकोले बाढीपहिरोको जोखिमबाट बच्न उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
भारी वर्षाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने देखिएकोले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।
अहिले बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज राति देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
