काठमाडौं – सशस्त्र प्रहरीले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि सहायक हवल्दारसम्म बढुवाको सूचना निकालेको छ ।
सूचनाअनुसार सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि एकै पटक सूचना प्रकाशन गरिएको छ ।
प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा बढुवाको लागि सूचना प्रकाशन गरिएको छ । आइतबार लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ ।
आइतबार १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
यसैगरी आइतबार नै लेखा उप–समूहतर्फ ५ जना र कानुन उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ । आइतबार नै १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ ।
यो प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछ ।
यसैगरी २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ । यसैगरी विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा सुधार आउने बताइएको छ ।
खाली पदमा बढुवा गर्दै जाने संगठनको नीति तथा प्रधानमन्त्री, गृहमन्त्री, गृहमन्त्रालयलगायत सकारात्मक भएकाले एकै पटक ठूलो संख्यामा बढुवाका लागि प्रक्रिया सुरु भएको हो ।
विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि सुरु भएको छ, भने सशस्त्र प्रहरी बलमा केही वर्ष यताको सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवासमेत हुन लागेको हो ।
पछिल्लो एक वर्षमा सशस्त्रका विभिन्न दर्जामा गरी करीव ३ हजार कर्मचारी बढुवा भएका छन् । यस्तै ३१ सय भन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करीब १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको छ ।
