मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् । यसअघिका कप्तान हरिहजुर थापालाई नेपाल भलिबल संघले बर्खास्त गरेको थियो । संघको सोमबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठले सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनी त्यसयता निरन्तर टोलीमा रहेका छन् । एसियन गेम्समा नेपाली पुरुष भलिबलको कप्तानी श्रेष्ठले गर्ने छन् ।
त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् । २६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव रहेको छ । उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् ।
गत साता त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादमा मुछिएपछि संघले हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गर्ने निर्णय लिएको थियो । शनिबार गरिएको उक्त निर्णयपछि सोमबार नै कार्यसमितिले नयाँ कप्तान चयन गरेको हो । नेपालले अब मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ ।
