काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको ग्रेड वृद्धि भएपछि मेयर बालेन्द्र (बालेन) शाहले शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको बताएका छन्।
काठमाडौंमा ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या यस वर्ष ७८ प्रततिशतले बढेको छ। यस वर्ष परीक्षामा गयल हुने विद्यार्थीको संख्या पनि घटेको छ। अघिल्लो वर्ष आवेदन दिएका १२५ विद्यार्थी गयल भएकोमा यस वर्ष त्यस्तो संख्या ५० जनामा झरेको छ।
गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ३.६१ देखि ४.० ल्याएका थिए। यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३%) छात्रछात्राले ‘३.६१ देखि ४.० ल्याएका छन्।
उनले भनेका छन्, ‘यो तथ्यांकबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै छ। विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन्। हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको छ।’
गएको वर्ष ‘ ३.२१ देखि ३.६० ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४%) जना थियो। यस वर्ष ४८६ (१२.४२%) पुगेको छ। २.८१ देखि ३.२१ जीपीएमा अघिल्लो वर्ष ६९७ (१७.६८%) जनाले उत्तीर्ण गरेकोमा यस वर्ष ८०४ (२०.५५%) गरेका छन्।
यस्तै अघिल्लो वर्ष २.४१ देखि २.८० ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०%) रहेकोमा त्यो यस वर्ष ९७४ (२४.९०%) पुगेको छ।
गएको वर्ष १००४ (२५.४६%) को २.०१ देखि २.४० आएको थियो। यस वर्ष २.०१ देखि २.४० ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४%) पुगेको छ। यससँगै १.६१ देखि २.० ल्याउने विद्यार्थीको संख्या (–२९ %) ले घटेको छ। गएको वर्ष यस ग्रेडमा ६२० जना (१५.७२%) उत्तीर्ण थिए। यस वर्ष ४३५ (११.१२%) मा घटेको छ ।
महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको उक्त तथ्यांकमा देखिन्छ।
नतिजा सुधार गर्न महानगरले निम्न कार्य गरेको मेयर शाहले बताएका छन् :
गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गर्यौँ। गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्यौँ। उहाँहरूको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन। बाहिर समग्र रूपमा वृद्धि भएको छ।
९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गर्यौँ। शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो।
प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन्।
विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरू पढाइमा थप रुचि राख्न थाले। अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो।
प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको छ।
