संसदीय समितिको सभापति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मात्र पाउने भएका छन् । कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपाले १, नेकपा एसले १ र जनमतले १ वटा समितिको सभापति पाउने मोटामोटी सहमति भएको हो ।
सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समितिका भागवण्डाका विषयमा ब्रिफिङ गरेका थिए ।
‘शीर्ष नेता बसेर कुन समिति कुन पार्टीले नेतृत्व गर्ने भन्नेमा निर्णय गर्न बाँकी छ,’ माओवादीका एक सांसदले भने, ‘सभापतिको सिफारिस गर्न बाँकी छ । प्रमुख सचेतकहरूले नाम सिफारिस गर्नुहुन्छ ।’
अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिमा सभापति चयन गर्नुपर्नेछ ।
त्यसैगरी, दुईवटा संयुक्त समितिमा पनि सभापति चयन भएको छैन । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा पनि सभापति चयन भएको छैन ।
माओवादी संसदीय दलको बैठकले संसदलाई प्रभावकारी बनाउने निचोड पनि निकालेको छ । शिक्षा, निजामती, टीआरसीलगायतका महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउन पहल गर्ने निष्कर्ष बैठकले निकालेको छ ।
