संसद्मा जारी अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा आइतवार दिउँसो प्रचण्डले छलफल गरेका हुन् । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आइतवार दिउँसोका लागि बोलाइएको छ।
बैठक मुख्यगरी सदन सुचारु गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।
बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु सहभागी छन् ।
