डोल्पाको सदरमुकाम दुनैमा अवस्थित नेपाली सेनाको नन्द बक्स क्याम्पका गुल्मपति मेजर विमल पण्डित सम्पर्कविहीन भएका छन्।
उनी आइतबार साँझदेखि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। बडीगार्ड नलिई हिँडेकाले उनको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ।
गुल्मपति पण्डितको खोजीका लागि डिएसपी शिवकुमार बुढाथोकीको नेतृत्वमा प्रहरी प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ। मोबाइलमा चार्ज नभएको साथै नेटवर्कले राम्रोसँग काम नगर्ने भएकाले सम्पर्क नभएको हुनसक्ने उनकाे अनुमान छ।
‘मेजर पण्डितको खोजीका लागि हामीले डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरेका छौँ’, उनले भने, ‘अहिलेसम्म उहाँ भेटिनु भएको छैन। त्रिपुरातिर गएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको छ।’
मेजर पण्डित आइतबार अपरान्ह इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट हिँडेका थिए। सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सुरक्षा गार्डलाई मसँग नआउन एक्लै जान्छु भनेर गएका थिए।
मेजर पण्डित ब्यारेकबाट निस्किएर नफर्किएको २४ घण्टा हुन लाग्दा पनि सम्पर्कमा नआएपछि अनेक आशंकाको अवस्था उत्पन्न भएको प्रजिअ पोखरेलले बताए।
पोखरेलले दुर्गम क्षेत्र भएकाले टेलिफोन नेट्वर्कको समस्या हुँदा खोजी र सम्पर्क गर्न गाह्रो भएको जानकारी दिए।
