वर्षायाममा प्रकृतिसँग लुकामारी खेल्दै कालिञ्चोक पुग्नुको मज्जा नै बेग्लै हुन्छ। सेकेण्ड सेकेण्डमा नयाँ नयाँ स्वरूपमा देखिन्छ कालिञ्चोक। आँखा झिमिक्क समेत गर्न दिँदैन यहाँको प्रकृतिले।
प्रकृतिले छिनछिनमा आफ्नो रूप बदल्दा जता हेरे पनि हेरिरहुँ झैं लाग्ने देखिन्छ। त्यसैले कालिञ्चोकलाई तपस्वीहरूको तपोभूमि, प्रकृतिसँग रमाउनेहरूको क्रिडास्थल मानिन्छ। त्यस्तै धर्मकर्म गर्नेहरूको लागि पुण्यभूमि अनि प्रकृति, धर्म र साहसिक यात्राको उत्कृष्ट त्रिवेणीधाम हो।
राजधानी काठमाडौं नजिकैको ठाउँ भएकाले आन्तरिक पर्यटकहरु सहजै यो ठाउँमा पुग्न सक्छन् । हिउँदमा भरिभराउ हुने यस ठाउँमा वर्षायाममामा भने पर्यटकहरु कमै हुने गरेका छन्।
कालिञ्चोक सदरमुकाम चरिकोटबाट १७ किलोमिटरमा पुग्न सकिन्छ। कालिञ्चोक मन्दिर ३ हजार ८ सय ४२ मिटरको उचाइमा छ। पैदल यात्राबाट पनि सजिलै पुग्न सकिने यस ठाउँमा हाल दैनिक रूपमा गाडीको सुविधा छ। अनेकौ किम्वदन्ती र पौराणिक कथाहरूमा समेत वर्णित यसको महिमा व्यापक छ।
विशेषगरी जनैपूर्णिमा, कार्तिक पूर्णिमा, चैतेदसैं, दसैं, नयाँ वर्षका दिन भव्य मेला लाग्ने यो पुण्यभूमिमा वर्षैभरी दर्शनार्थीहरूको बाक्लै उपस्थिति हुन्छ। प्रकृतिका छटाहरू नयनमा सजाउँदै, पाइलै पिच्छे गुञ्जने चराचुरूङ्गीका कर्णप्रिय वाणीहरूले यात्रालाई सजिलो र छोटोको आभास दिलाउँछ।