काठमाडौं – नेपालले श्रीलंकालाई ६-० गोलले हराएको छ। महिला साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६ गोलले हराएको हो।
पहिलो हाफ हुनुअघि ४ गोल गरेको नेपालले त्यसपछि २ गोल थपेको थियो। नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन् भने साबित्रा भण्डारी र सविता राना मगरले एक-एक गोल गरे। रेखाले १३ र ३६औं मिनेटमा गोल गरिन् भने सविताले ८ र सबित्राले १२औं मिनेटमा गोल गरे।
त्यस्तै ४६ मिनेटमा अमिसा कार्कीले १ र अतिरिक्त समयमा रश्मी कुमारी घिसिङले १ गोल थपेका थिए। जितसँगै नेपाल समूह विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालले समूहमा ७ अंक जोड्दा उपविजेता बनेको भुटानले पनि ७ अंक नै जोड्यो। गोलअन्तरमा भने नेपालले भुटानलाई एक गोलले पछि पार्यो।
यसअघि नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गर्दा भुटानसँग गोलरहित खेलको थियो।
अब नेपालले आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्नेछ। त्यसअघि भुटान र बंगलादेश पहिलो सेमिफाइनलमा भिड्नेछन्।
