कास्की जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको पूर्व व्यावसायिक साझेदारसमेत रहेका जीबी मलेसियामा रहेको अनुमान गरिएको छ ।
उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले एसपीको कमान्डमा प्रहरी टोली मलेसिया पठाए पनि उनलाई ल्याउन सकेको थिएन ।
राहदानी रद्द भएपछि जीबीलाई ल्याउन सहज हुने दाबीसहित प्रहरीले राहदानी विभागलाई पत्र लेखेको थियो । तर, विभागले रद्द गर्न मानेन । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतलाई गुहार्यो ।
जीबीको राहदानी रद्द गर्नुपर्ने मागसहितको रिटमा शुक्रबार न्यायाधीश बेलबासेले अन्तरिम आदेश दिँदै माग बमोजिम हुने आदेश दिएका छन् ।
अहिले प्रहरीले सरकारी वकिल कार्यालयमार्फत पाँच वटा जिल्लामा सहकारी ठगीको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला र कास्कीको सूर्यदर्शन सहकारी गरी पाँच वटा सहकारीको ठगीमा मुख्य आरोपी जीबी नै छन् । उनले आफूसहित आफ्ना अन्य कम्पनीमा ति सहकारीबाट करोडौं ऋण प्रवाह गराएका छन् ।