काठमाडौं – काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा भएको क्षतिको विवरणसहित निर्मल निवासलाई जरिवानाको पत्र पठाएको हो।
महानगरपालिकाका अनुसार पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ। जरिवानाका प्रमुख शीर्षकहरू निम्नानुसार छन्:
१. कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी, बालकुमारी र सिनामंगल क्षेत्रमा सडक तथा सडकपेटीमा फोहोरमैला फालिएको आरोपमा प्रति स्थान १ लाख रुपैयाँ जरिवाना।
२. महानगरको दमकलमा क्षति पुर्याएको भन्दै १ लाख ३० हजार रुपैयाँ जरिवाना।
३. तीनकुने क्षेत्रमा रहेको रुख, बिरुवा तथा रेलिङ तोडफोड गरेको आरोपमा ४० हजार रुपैयाँ जरिवाना।
४. तीनकुनेको आइल्याण्डमा तोडफोड गरेको भन्दै २३ हजार रुपैयाँ जरिवाना।
यसअघि पनि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा फोहोरमैला तथा क्षति पुर्याएको भन्दै विभिन्न दलहरूलाई जरिवाना गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई १ लाख रुपैयाँ तथा नेकपा एमालेलाई दरबारमार्गमा जागरण सभा गर्दा फोहोरमैला गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गरिएको थियो।
महानगरले सार्वजनिक सम्पत्तिको सुरक्षा र सरसफाइ कायम राख्न सबै पक्षलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।
