काठमाडौँ – नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा सम्पन्न गरेको छ । अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले ढकाललाई हालै दक्षिण कोरियाको सिउलमा सम्पन्न Inter-Parliamentary Speakers’ Conference (ISC) बाट महासचिव जस्तो गरिमामय अन्तर्राष्ट्रिय पदमा मनोनयन भएकोमा बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटबारे समेत गम्भीर छलफल गरिएको थियो। बजेटलाई जिम्मेवार र यथार्थपरक भन्दै बैठकले स्वागत गरेको छ। आर्थिक अनुशासन कायम गर्ने, व्यवसायीलाई प्रोत्साहित गर्ने र कार्यान्वयन प्रभावकारी भएमा सुशासन तथा विकासमा टेवा पुग्ने विश्वास पनि बैठकले व्यक्त गर्यो।
साथै, वर्षायामसँगै देखिने बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारीको खाँचो औँल्याइएको छ। कृषकलाई मलबिउको सहज आपूर्ति, यातायात सेवामा यात्रुको सुविधा, सरकारी काममा ढिलासुस्ती अन्त्य तथा समग्र सुशासन प्रवर्धनका लागि सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ।
बैठकले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अज्हा) को अवसरमा नेपाल तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ।
पार्टीका महासचिव सन्तोष कुमार पौडेलद्वारा जारी विज्ञप्तिअनुसार सबै निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।