काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले चीनको एक हप्ते औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। मन्त्री खड्काले भ्रमणलाई “उपलब्धिमूलक र भविष्य केन्द्रित” रहेको बताएका छन्।
विमानस्थलमा पत्रकारहरूसंग कुरा गर्दै मन्त्री खड्काले चीनसँग विभिन्न महत्वपूर्ण छलफल र सम्झौताहरूमा सहभागी भई, नेपालको ऊर्जा क्षेत्रको विकास र भविष्यका योजनाबारे जानकारी गराएको बताए ।
चीन भ्रमणको क्रममा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानको लागि प्रतिबद्धता व्यक्त गर्दै भने, “नेपाल अब ऊर्जा सुरक्षामा आत्मनिर्भर बनिसकेको छ र हामी भविष्यमा यस क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने लक्ष्यमा अघि बढिरहेका छौँ।”
मन्त्री खड्काले शाङ्हाई सहयोग संगठन (SCO)को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा नेपालको ऊर्जा रणनीति र दीर्घकालीन सहकार्यका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। बैठकमा उहाँले नेपालको आगामी ऊर्जा योजनाबारे जानकारी दिँदै, २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य र १५,००० मेगावाट विद्युत निर्यात गर्ने योजनाबारे पनि चर्चा गरेका थिए ।
मन्त्री खड्काले बैठकमा चीनसँग भविष्यमा सहकार्य थप बलियो बनाउने कुरामा जोड दिएका थिए । उनका अनुसार, “ऊर्जा अब केवल व्यापारको विषय होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो। नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकको रूपमा अघि बढाउने योजना बनाएको छ।”
चीन भ्रमणको दौरानमा मन्त्री खड्काले चीनका ऊर्जा प्रमुख वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । उक्त भेटमा, नेपाल र चीनबीच ऊर्जा सुरक्षाको क्षेत्रमा दीर्घकालीन सहकार्यको संभावना र प्रविधि हस्तान्तरणको बारेमा छलफल भएको थियो।