काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक गरिएको छ।
सार्वजनिक गरिएको टिजर १ मिनेट ४९ सेकेन्ड लामो छ। ‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने संवादबाट सुरु भएको टिजरमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बाल्यकालदेखिको प्रेम, विवाह र त्यसपछि आउने उतार–चढावलाई चित्रण गरिएको छ।
फिल्ममा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार तथा आराध्या राज्यलक्ष्मी डीसीको अभिनय छ। श्रीकृष्ण निरौला र जानुका विश्वकर्माले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
फिल्म ‘सिटामोल’ का निर्देशक राजबहादुर साने हुन्। तुल्सी देवी फिल्म्स प्रालिले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण गरेको यस फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन्।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकासराज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्मातामा रहेका छन्।
फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन तथा देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।
