काठमाडौं — नेपालमा पहिलोपटक आयोजना भएको नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५ शुक्रबारदेखि सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद्, बबरमहलमा आयोजित औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गरे।
राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधार कला, संस्कृति र सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण तथा प्रवर्द्धनमा सरकार र निजी क्षेत्र दुवै सक्रिय हुनुपर्नेमा जोड दिए। उनले लोकतन्त्रमा सबैलाई समान अवसर हुने भएकाले सांस्कृतिक धरोहर जोगाउन सबैको साझा जिम्मेवारी हुने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। उनले यसलाई हरेक वर्ष अझ विस्तृत रूपमा आयोजना गर्ने तयारी भएको जानकारी दिए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्वतीय र साहसिक पर्यटनभन्दा बाहिर पनि नेपाललाई कला र संस्कृति केन्द्रका रूपमा प्रस्तुत गर्ने लक्ष्य महोत्सवमार्फत लिइएको बताए।
नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले यसलाई दीर्घकालीन रूपमा ‘वैश्विक सांस्कृतिक पर्व’ बनाउने योजना रहेको बताए।

काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी कार्यक्रम हुनेछन्। १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिने छन् भने संगीत–नृत्य, कला–कौशल, परम्परागत परिकार र जीवित संस्कृतिको अनुभवसमेत गर्न पाइनेछ।
नेपाल पर्यटन बोर्ड, नेपाल आर्ट काउन्सिल र नेपाल होटल व्यवसायी संघको सहआयोजनामा सुरु भएको महोत्सव असोज ११ गतेसम्म चल्नेछ। “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरु भएको महोत्सवले उपत्यकाका पुराना शहरलाई उत्सवमय बनाउने र नेपालको सांस्कृतिक गौरवलाई विश्वमञ्चमा पुर्याउने अपेक्षा गरिएको छ।



