काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात् नेपाल संवत्अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म यो पर्व मनाइन्छ।
गुँला पर्वका अवसरमा बौद्धमार्गीले विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यको परिक्रमा गर्नुका साथै विशेष पूजा–आराधना गर्ने गर्छन्। पर्व सुरु भएसँगै काठमाडौँको स्वयम्भू महाचैत्यमा भक्तजनको चहलपहल बढेको छ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना भन्ने बुझिन्छ। नेपाल संवत् सुरु भएको नौ महिना पूरा भएपछि मनाइने भएकाले यस पर्वलाई गुँला भनिएको मानिन्छ। पर्वका दुई पक्षलाई ‘गुँलाथ्व’ र ‘गुँलागा’ भनिन्छ।
गुँला पर्वमा विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्ने प्रचलन छ। भक्तजनले बौद्धनाथ, पाटनको पुलचोकलगायत काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका चैत्यको समेत परिक्रमा गर्छन्। टोल–टोलबाट समूहमा परम्परागत बाजागाजासहित निस्किएर चैत्य तथा स्थानीय देवदेवीको परिक्रमा गर्ने चलन पनि छ।
गुँला पर्वको प्रमुख विशेषतामध्ये ‘न्याकुँ’ बाजा पनि एक हो। राँगाको सिङबाट बनाइएको न्याकुँसँगै धाः, धिमे, भुस्या, बाँसुरीलगायत परम्परागत बाजा बजाएर पर्व मनाइन्छ। बाजागाजासहित चैत्यको परिक्रमा गर्नुका साथै गणेश, भीमसेन, भैरव तथा स्थानीय इष्टदेवतासहित विभिन्न देवीदेवताको पूजा र परिक्रमा गर्ने परम्परा रहेको छ।
खेतीपातीको मुख्य काम सकिएपछि मानिसहरू केही फुर्सदिलो हुने समयसँगै अन्य चाडपर्वको आगमनलाई समेत जोडेर गुँला पर्वलाई सामुदायिक रूपमा खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ। पर्व अवधिभर बुद्धको विशेष पूजा–आराधना तथा विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन्।
पछिल्ला वर्षमा गुँला पर्वमा मौलिक बाजागाजाको प्रयोग र सहभागिता बढ्दै गएको छ। यसले नेवार समुदायको धार्मिक आस्था तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्वको परम्परा नयाँ पुस्तामाझ हस्तान्तरण गर्नसमेत सहयोग पुगेको स्थानीयको भनाइ छ।
एक महिनासम्म विभिन्न बाजागाजासहित चैत्य परिक्रमा, पूजा–आराधना तथा धार्मिक–सांस्कृतिक गतिविधि गर्दै गुँला पर्व मनाइनेछ।

