ललितपुर – ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर परिसरमा रुद्रायणी देवगणहरूले परम्परागत नृत्य प्रस्तुत गरेका छन्।
जात्राका क्रममा श्री रुद्रायणी गुठीका १४ जना गुठियारले विभिन्न देवीदेवताको रूप धारण गरी ख्वापाः (मुकुण्डो), परम्परागत पोसाक तथा गरगहना लगाएर नृत्य प्रस्तुत गरेका हुन्। खोकनावासीले बडादशैँ नमनाई आफ्नै मौलिक परम्पराअनुसार मनाउने सिकाली जात्रा घटस्थापनादेखि सुरु हुन्छ।
सिकाली जात्राअन्तर्गत रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, वाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्तिकुमार गरी १४ देवीदेवताको नृत्य प्रस्तुत गरिन्छ। यी नृत्यको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी श्री रुद्रायणी गुठीमा रहेको छ। गुठीमा ४६ जना देवगण अर्थात् गुठियार रहेका छन् भने उनीहरूबीच जात्राका विभिन्न गतिविधि सञ्चालन गर्न कार्यविभाजन गरिएको हुन्छ। सबै देवगण महर्जन–डङ्गोल खलकका हुन्।
गुठीका बैदार बेखनर महर्जनका अनुसार ४६ जना गुठियारमध्ये १४ जनाले देवीदेवताको भूमिका निर्वाह गर्छन्। देवगणहरूलाई मन्दिरभित्र लगेर तान्त्रिक विधिअनुसार वीरभद्र र महाकालीका रूपमा बाहिर निकाल्ने र सिकाली मन्दिर परिसरमा नृत्य गराउने परम्परा छ। त्यसपछि देवगणहरू नाच्दै सिकाली चौरबाट गाउँ परिक्रमा गर्छन्।
सिकाली चौरमा प्रस्तुत गरिने नृत्य जात्राको प्रमुख आकर्षणमध्ये एक हो। देवगणहरूले मुकुट, विशेष पोसाक तथा गरगहना लगाएर अश्वमेध यज्ञसँग सम्बन्धित धार्मिक तथा पौराणिक प्रसङ्गलाई नृत्यमार्फत प्रस्तुत गर्छन्। धार्मिक मान्यताअनुसार यज्ञमा सेतीदेवीलाई होम गरिँदा वीरभद्र र महाकाली जागेर यज्ञ विध्वंस गरेको दृश्य नृत्यमा देखाइने गरिन्छ ।
सिकाली जात्राका विभिन्न दिनमा फरक–फरक धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिन्छन्। पञ्चमीका दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीमा देवीदेवताको नृत्य प्रदर्शन हुन्छ। सप्तमीका दिन खोकनाको तल्लो लाछी टोलस्थित डबलीमा नाच देखाउने परम्परा छ। उक्त नाचलाई महालक्ष्मीले महिषासुरको वध गरेपछि खुसीयाली मनाएको प्रसङ्गसँग जोडेर ‘लसता प्याँख’ भनिन्छ।
सप्तमीकै राति क्वँलाछीमा पनि नृत्य प्रस्तुत गरिन्छ। अष्टमीका दिन रुद्रायणी मन्दिरमा मूर्ति र ख्वापाः पुनः प्रतिस्थापन गर्ने परम्परा रहेको महर्जनले जानकारी दिए। जात्राको अवसरमा आफन्तलाई निमन्त्रणा गरी भोज गर्ने चलनसमेत छ।
धार्मिक आस्था, तान्त्रिक परम्परा, नृत्य तथा मौलिक नेवारी संस्कृतिको संयोजन रहेको सिकाली जात्राले खोकनाको ऐतिहासिक पहिचान र सांस्कृतिक परम्परालाई जीवन्त राख्दै आएको छ।



