रामेछाप- रामेछापको मन्थली नगरपालिका २ कठजोरमा पुननिर्माण भएको स्वास्थ्य चौकी भवन सोमबार एक कार्यक्रमका विच स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरीएको छ ।
२०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त सरकारी संरचनाहरुको पुनर्निर्माण गर्ने क्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन ) ले उक्त स्वास्थ्य चौकी भवनको निर्माण गरेको हो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यवाहक वडा अध्यक्ष जनक खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले नवनिर्मित स्वास्थ्य चौकी भवनको सांचो व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा नगर प्रमुख वस्नेतले स्थानीय सरकारले नागरिकको स्वास्थ्य सुविधाका लागि पूर्वाधारको साथै जनशक्तिको व्यवस्थापन गर्दै लगेको वताए । उनले निर्माण भएको संरचनाको उच्चतम सदुपयोग गर्दै नियमित स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना प्रमुख गणेश अर्यालले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माणको क्रममा कठजोर स्वास्थ्य चौकीको निर्माण पुरा गरेर समुदायलाई हस्तान्तरण गर्दा हर्षित भएको वताए । उनले स्वास्थ्य सेवामा गुणस्तरता ल्याउनका लागि भवन सहयोगी वन्न सक्नेमा आशावादी रहेको वताए । आयोजनाले भूकम्पबाट क्षतिग्रस्त सरकारी संरचना, निजी आवास र पूर्वाधार विकासको काम गर्दै आएको अर्यालले प्रकाश पारे ।
मोतिदान दि कन्चनजंगा जेभिले आयोजना संग २०७५ मंसिरमा निर्माण कार्यको संझौता गरी निर्माण सुरु गरेको थियो । आयोजनाका इन्जिनियर सुरेश थापाका अनुसार कुल १ करोड ७६ लाख ८५ हजार ११ रुयैयाको लागतमा उक्त भवन निर्माण भएको हो । भवनमा सुरक्षित सुत्केरी गराउने कक्ष, विरामी उपचार कक्ष, क्लिनिक कक्ष, भण्डार कक्ष लगाएत २ परिवार स्वास्थ्यकर्मीको आवास समेत रहेको छ । उक्त भवन अपांङ्ग मैत्रि छ ।
कार्यक्रममा निर्माण व्यवसायी बद्री खड्काले लकडाउनका बेला समेत निर्माण कार्यलाई जारी राखेकोले समयमानै भवन हस्तान्तरण गर्न सक्षम भएकोे वताए । उक्त निर्माण सेवाले रामेछापको बाम्ती अस्पतालको भवन समेत निर्माण कार्य गर्दै आएको छ ।
कठजोरमा आधुनिक स्वास्थ्य भवन
