काठमाडौं- नेपाल प्रहरीको २८ औं आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । सरकारले प्रहरीका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।
थापा २०७६ साल फागुन १५ गते एआईजीमा बढुवा हुनुभएको थियो । गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादनसमेतको मुल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरे अनुसार आज बसेको मन्त्रिपरिषको बैठकले थापालाई आईजीपी बनाएको हो ।
२०४९ बैशाख १९ प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएको थियो ।
नेपाल प्रहरीमा चार वर्षयता भएका आईजीपी सिधै डीआईजीबाट नियुक्त भएकोमा यस पटक भने २८ औं महानिरीक्षक भने एआईजीबाट नै नियुक्त भएको छ । थापाले २०७९ बैशाख १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नुहुनेछ । नेपाल प्रहरीका एआईजी थापा हाल मानवश्रोत एवं प्रशासन विभागको जिम्मेवारीमा रहनुभएको थियो ।
व्यावसायिक छवि बनाउन सफल हुनुभएका थापाको लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा विताउनुभएको अनुभव रहेको छ । इन्सपेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदासम्म एकेडेमी र सचिवालयमा काम गरेको लामो अनुभव छ । प्रहरी निरीक्षक हुँदा सल्यान र सिन्धुपाल्चोकमा काम गर्नुभएका थापाले डीएसपी हुँदा धादिङको प्रमुख, एसपी हुँदा कास्की र झापाको प्रमुख रहेर काम गर्नुभएको थियो ।
डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेर काम गर्नुभएका उहाँले नेपाल प्रहरीको दुई पटक प्रवक्ताको जिम्मेवारीसमेत सम्हालि सक्नुभएको छ । सेवा प्रवेश गरेपछि दुई पटक बाहेक सधै पहिलो नम्बरमा बढुवा हुन सफल हुनुभएका थापा संगठनभित्र व्यवसायिक र निष्कलंक छवि रुपमा चिनिदै आउनुभएको छ ।
वि.सं. २०२५ साल मंसिर २३ गते भक्तपुर सुर्यविनायक नगरपालिका–५ साविक कटुन्जे गाविस–९ मा जन्मिनुभएका थापाले २०४९ वैशाक १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाका बुबा पनि पूर्व डिजाइजीबाट अवकाश हुनुभएको थियो ।
बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउनुहुने महानिरीक्षक थापाले भक्तपुरको शारदा माध्यामिक विद्यालय व्यासीबाट २०४० सालमा एसएलसी पास गर्नुभएको थियो । नेपाल कर्मश क्याम्पस मिनभवनबाट ब्याचुलर पास गर्नुभएका थापाले त्रिभुवन विश्वविद्यालयबाट पोलटिकल साइन्समा मास्टस गर्नुभएको छ ।
थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) र आर्मी स्टाप कलेजबाट ग्रेजुएशन गर्नुभएको छ । थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिनुभएको थियो । संगठनको कामको शिलसिलामा थापाले २२ वटा भन्दा बढी देशमा सहभागी हुनुभएको थियो ।
प्रहरी सेवामा निवेदन दिदा पहिलो नम्बरमा नाम निकाल्न सफल भएको थिए, दुई पटक बाहेक संगठनमा सधै पहिलो नै भए ।
