काठमाडौं- यो बर्षको रातो मच्छिन्द्रनाथको रथारोहण आगामी शनिबारबाट सुरु हुने भएको छ ।
कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो ।
तर मुहूर्त कुरेर अहिलेसम्म रथारोहण गरिएको थिएन । यो पटकको रातो मच्छिन्द्रनाथको रथारोहण साउन १० गतेको लागि मुहूर्त जुरेको छ । रथारोहण गरिसकेपछि कृष्ण मन्दिर राजोपाध्यायहरूलाई गोदान गर्ने गरिन्छ । त्यसपछि साँझा ४ बजे तिर गुर्जु पल्टनका सैनिकहरूले बन्दुक पड्काएपछि औपचारिक रूपमा रथयात्रा सुरु गर्ने चलन छ ।
रथयात्रा सुरु भएपछि पुल्चोकमा रहेको सो रथलाई तानेर गाबहालको चारदोबाटो पुयाउने गरिन्छ ।
रथयात्राको पहिलो दिन रथलाई विधिवत पूजा गरी सोही चोकमा राखिन्छ । दोस्रो दिन गाबहालबाट मंगलबजारसम्म रथ तान्ने गरिन्छ । तेस्रो दिन सुन्धारासम्म र चौथो दिन पनि सुन्धारामा रथ राख्ने गरिन्छ । हरेक दिन बिहान र बेलुकी रथमा विधिवत् पूजा गर्ने गरिन्छ ।
त्यस्तै, पाँचौं दिन रथलाई महाबौद्धभन्दा अघि पुरानो बालकुमारी पीठसँगै रहेको खाली ठाउँमा राख्ने गरिन्छ ।
त्यसैको भोलिपल्ट लगनखेलमा रहेको रूखमा रथ घुमाएर त्यहीँ राख्ने गरिन्छ । त्यसको भोलिपल्ट रथलाई लगनखेलको माथिल्लो चोकमा राखेर बली दिनुपर्छ ।
रथको पाङ्ग्रालाई भैरवको स्वरूप मान्ने गरिन्छ । त्यहाँ बलि दिएपछि भोलिपल्ट बिहान ६÷७ बजे नै महिलाहरूले मात्रै तानेर रथलाई लगनखेलमा लगेर राख्ने गर्छन् ।
त्यसपछि फेरि अर्काे साइत हेरेर त्यसलाई जावलाखेलसम्म तान्ने गरिन्छ । जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने प्रचलन रहेको छ । सोहि दिन बेलुका मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती लैजाने गरिन्छ । तर यो बर्ष के गरिन्छ भन्ने अझै टुंगो लागेको छैन । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।
