डम्बर निदाल
डडेल्धुरा – डडेलधुराको सदरमुकाम बागबजार क्षेत्रको सडक चौडा गर्न आज लास आन्दोलन गरेको छ । जिल्ला सदरमुकामबागजार क्षेत्रमा सडक चौडा गरिनु पर्ने माग राख्दै मंगलवार बोलन्या थलीले लास आन्दोलन गरेको हो ।
बोलन्या थलीले कोरोनाले होइन, दुर्घटनाले मरिएको छ ,म त गए माथी, तिमी बाँच है साथी, सडक चौडा खै, म त स्वर्ग पुगे बरी लै,लगायतका नारा दिएर प्रदर्शन गरेको हो ।
जिल्ला सदरमुकाम बागबजारको भिमदत्त चोकमा युवाहरुले लास बनी सडक चौडा गरिनु पर्ने माग गरेका छन् । मंगलबार दिउसो सडकमा चार युवाले लास बनेर साँकेतिक आन्दोलन गरेका हुन ।सडक चौडा नगरिदा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आएकाले लास आन्दोलन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

बोलन्या थलीले मंगलबार लास बनेर विकास निमार्णको कार्यमा अवरोध गर्नेका विरुद्ध प्रदर्शन गरेको र स्थानीयले धेरै समयदेखी सास्ती पाइरहेको भन्दै सडक चौडा बनाउन दवाव स्वरुप प्रदर्शन गरेको उनले बताए । सडक विस्तार गर्न बजेट विनियोजन भइ टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्चमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेको भन्दै लास बनेर सडक चौडा बनाउन दवाव दिएको संयोजक जोशीले बताए ।

सडक विस्तारका लागि संघीय सरकारबाट ४४ करोडको बजेट विनियोजन भएको थियो । सडक विस्तारका लागि टेण्डर समेत भइसकेको अवस्थामा बागबजारका केहि व्यापारीले क्षतिपूर्ति माग गर्दै सर्वोेच्च अदालतमा मुद्धा दायर गरेका थिए । जसका कारण अहिले सडक बिस्तारको काम रोकिएको छ ।
डडेल्धुरा सदरमुकामको साघुँरो सडकका कारण दैनिकजसो सवारीसाधन जाम लाग्ने जसका कारण सर्वसाधारण लाई हिँडडुल गर्न समस्या भएको र साघुँरो सडकका कारण दुर्घटनाको जोखिम समेत रहेको छ ।
