काठमाडौँ – नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ । डा. गोविन्द केसी को १९ औं आमरण अनशनको २४ औं दिन पुगी सक्दा समेत सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता गरेकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको समेत बताएको छ ।
यस्तै संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै असोज २२ गते, बिहीबार, बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैै धर्ना गर्ने निर्णय समेत गरेको छ । असोज १८ गतेका दिन डा. केसीको जीवनरक्षाका निम्ती नेपाल सरकारलाई ७२ घण्टाको समयावधि उपलब्ध गराई वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अबिलम्ब सत्याग्रहको अन्त्य गर्न आग्रह गरे पनि सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता गरेको कारण संघले विरोधको कार्यक्रम अगाडि सारेको स्पष्ट पारेको छ ।
संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । संघले अझै पनि नेपाल सरकारलाई कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सेवा प्रवाहमा उत्पन्न हुनसक्ने गम्भिर परिस्थितिप्रति गहन रुपमा मनन गरी अबिलम्ब वार्ताटोली गठन गरेर वार्ता र सम्वादको माध्यमद्वारा सत्याग्रहको अन्त्य आग्रह गरेको छ ।
