काठमाडौँ – सरकारले अनशनरत डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमति गरेको छ ।चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बस्नुभएका डाक्टर केसीसँग गएराति सहमति भएको हो । सहमति भएसँगै डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्ने तयारी छ ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।
सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।
