काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित ‘आरोप पत्र’ फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर ओलीले पार्टीको बैठकमा प्रस्तुत लिखित प्रस्ताव फिर्ता लिन आग्रह गरेका हुन् ।
जवाफमा अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटीको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।
“बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिइदिनुपर्यो भन्ने पुरानै आग्रह दोहोर्याउनु भयो,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, “अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भएको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटी बैठकमा छलफल गरेर निष्कर्षमा पुगौं भन्नुभयो ।”
स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा दुई अध्यक्षबीच छलफल भएको हो । दुई अध्यक्षबीचको छलफल चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।
प्रधानमन्त्री ओली बाहिरिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल पनि खुमलटार पुगेका थिए ।
लिखित प्रस्तावको दोहोरी चलिरहेका बेला ओलीले संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश जारी गरेपछि नेकपा भित्रको विवाद र संकट थप बढेको छ ।
