काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताएका छन् ।
सोमबार राति विज्ञप्ति जारी गर्दै ठाकुरले आफ्नो एजेण्डा सम्बोधनको पक्षमा रहेको बताएका छन् । सत्ताको खेलामा भन्दा पनि आफूहरुले उठाउँदै आएको एजेण्डा पूरा गराउन तल्लीन रहेको बताएका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारसँग निरन्तर वार्ता भइरहेको र आफ्ना एजेण्डा पूरा गराउन प्रयासरत रहेको भन्दै नयाँ सरकार गठन आफ्नो प्राथमिकतामा नरहेको स्पष्ट पारेका हुन् ।
सोमबार दिउँसो संसदमा पनि जसपाकै डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए।
जसपामा भट्टराई–यादव ओलीको तीव्र विरोधमा छन् भने ठाकुर समर्थनमा छन्। जारी विज्ञप्तिमा पनि ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गरेका छन्।
आफ्ना पार्टीले उठाएका मुद्दाबारे उनीसँग भएका वार्ता सकारात्मक तथा कार्य-प्रगतिसमेत भइरहेकाले आफू अर्काे सरकारका पक्षमा नरहेको ठाकुरले उल्लेख गरेका छन्।
ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो, मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ।’
नयाँ सरकार नबनुन्जेल ओलीलाई नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्न राष्ट्रपतिले भनिसकेकी छन् भने नयाँ प्रक्रियामार्फत उनलाई पुनः प्रधानमन्त्री बन्ने बाटो पनि खुलै छ।

