काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजेदेखि भेटवार्ता सुरु भएको हो ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । सिंहदरबारमा एमाले कार्यदलको बैठकको बसिरहेको बेला राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
कार्यदलले एमाले विवादमा ‘मुख्य विषयमा सहमति भइसकेको जानकारी दिएको छ , त्यो भनेको अदालतमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने, अदालतलाई प्रभावित पार्ने गरी कुनै पनि भाषा प्रयोग नहुने तथा निसर्त २०७५ जेठ २ को कमिटी पुन:स्थापना नै हो।
विधान संशोधनलगायतका विषयमा पनि सहमति भएको छ। माओवादीबाट एमालेका आएका नेतामात्र नभई नेकपा कालमा थपिएका नेतालाई पनि केन्द्रीय सदस्य बनाउन विधान संशोधन गर्नैपर्ने भएकाले यो कामसमेत गरेर उनीहरूलाई प्रकृयागत ढंगबाट पार्टीमा ल्याउने सहमति भएको छ ।
विगतमा जस्तो नेपाल पक्षमा लागेकै कारण भोलिका दिनमा अन्याय गरियो भने त्यसले राम्रो सन्देश नजाने र पार्टी एक हुनु नहुनुको कुनै औचित्य पनि नहुने नेपालको भनाइ छ ।
शक्ति बाँडफाँट पनि नेपाल पक्षको मुख्य माग हो । बुधबार राति होटल म्यारियटमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालनमा बराबरी हिस्सेदारी मागेका थिए।
