काठमाडौं – ज्वाला संग्रौलासहित चार जनालाई साधारण तारेखमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश ओमप्रसाद अर्यालको इजालसले अभियन्ता दाबी गर्ने ज्वाला भनिने टीका संग्रौला, शर्मिला वाइवा, यमबहादुर खड्का र हिमाल उपाध्यायलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
केही दिनअघि युवासंघकी नेतृ खुस्बु घिमिरेमाथि ज्वालाको समूहले प्रहरी कार्यालभित्रै आक्रमण गरेको थियो । घिमिरेले महानगरीय प्रहरी परिसर टेकुमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
यस्तै ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झामाथि रंगभेदी दुव्र्यवहार गरेको अभियोग थियो।
उनीहरु चारै जनाविरुद्ध जातीय तथा सामाजिक भेदभावसम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाएको थियो। मुलुकी फौजदारी अपराध संहिता १६६ अनुसार जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने उल्लेख छ।
यस्तो कसुर गर्ने व्यक्तिलार्ई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ व्यवस्था छ। सोही सजाय माग गर्दै उनीहरुविरुद्ध मुद्दा चलाइएको थियो। उक्त मुद्दामा उनीहरु चारै जनालाई धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको हो।
संग्रौलासहितको टोलीको सवारी साधन ड्युटीमा खटिएका असई झाले रोकेर जाँच सुरु भएपछि असई झामाथि रंगभेदी व्यवहार भएको थियो।
