काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको स्तरोन्नति, प्यारापिट व्यवस्थापन, फ्लडलाइट जडान तथा अन्य आवश्यक तयारी पूरा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि मैदानलाई थप व्यवस्थित र आकर्षक बनाइएको छ। खेलाडी तथा दर्शकलाई सहज हुने गरी खेलमैदान र दर्शकदीर्घाको व्यवस्थापन गरिएको छ।
यस संस्करणको एनपीएलमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) समेत लागू गरिने भएको छ। डीआरएसको प्रयोगले अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा प्रदान गर्नुका साथै खेलको निष्पक्षता र विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मैदानको स्तरोन्नति, फ्लडलाइट तथा प्रविधिको प्रयोगले यस संस्करणको प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।






