विद्यालयबाहिर रहेका बालबालिका, किशोर–किशोरी तथा युवाहरुलाई लक्षित गरी वृहत यौनिकता शिक्षामा जोड दिइएको छ । संसदको स्वास्थ्य तथा शिक्षा समितिकी सभापति एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ जयपुरी घर्तिले यौनिकताबारे समाज खुला हुन नसक्दा समस्या दिन–प्रतिदिन बढिरहेको बताउनुभएको छ । राजधानीमा शनिबार आयोजित ‘विद्यालय बाहिर रहेका बालबालिका, किशोर किशोरी तथा युवाहरुको वृहत यौनिकता शिक्षामा पहुँचको अवस्था’ विषयक कार्यक्रममा बोल्दै उहाँले यौनिकता शिक्षा मानव जीवनको एक अभिन्न पाटो रहेको र यो शिक्षा सबैका लागी अनिवार्य, आवश्यकताको विषय भएको बताउनुभयो ।
पछिल्लो समय नेपाली समाज यौनिकताको विषयमा केही खुला हुँदै गएको तर बढ्दो प्रविधिको व्यवस्थित विकास हुन नसक्दा विकृती समेत बढ्दै गएको समितिकी सभापति घर्तिको भनाइ छ । सभापति घर्तीले नेपालमा राजनीतिक परिवर्तन भएपनि समाजको सोचाईमा परिवर्तन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले गाउँघरमा अहिले पनि बिहेको कुरा पनि गर्न लाज मान्ने बताउनुभयो । साथै, उहाँले विद्यालय जाने किशोरीहरुले महिनावारीका बेला आफ्नो पीडा भन्न नसक्ने हुँदा यो समस्या पनि बढिरहेको बताउनुभयो ।
सभापति घर्तीले १२ कक्षासम्म स्वास्थ्य तथा जनसंख्या शिक्षालाई अनिवार्य बनाइनुपर्ने र हरेक विद्यालयमा १ जना स्टाफ नर्सको व्यवस्था गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । विद्यालयमा अध्ययनरत किशोर किशोरी तथा युवा युवतीको यौनसम्बन्धका कारण भविष्यमा हुनसक्ने सम्भावित घटनाहरुबारे बेलैमा सचेत बन्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो । तान नेपाल र ‘राइट हेयर राइट नाव’ नेपालको संयुक्त आयोजनामा भएको अन्तक्रियात्मक कार्यक्रममा महिला अभियन्ताहरुका साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।
