काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४ औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले भएको घटनाक्रमलाई सम्झिएका छन् ।
केपी शर्मा ओलीका कारण सिंगो देशले दुःख पाएको भन्दै उनले भने, ‘नेपाल कम्युनिस्ट, त्यो पार्टीको नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अयोग्यताका कारणले गर्दा सिंगो नेपाल, खास गरेर एउटा पुस्ताले नै करिब-करिब त्यसको सजाय भोग्नु परेको छ ।’
उनले नचाहँदा नचाहँदै आफ्नो पार्टीको नेतृत्वमा सरकार सञ्चालन गर्नुपर्ने अवस्था आएको पनि बताए ।
उनले भने, ‘हामी चाहन्थौँ, सभापति शेरबहादुर देउवा पनि चाहनुहुन्थ्यो, अहिले कम्युनिस्टको सरकार होस् । हामी प्रतिपक्षीको भूमिका निर्वाह गरेर पाँच वर्षपछिको आवाधिक निर्वाचनमा सरकार परिवर्तन गर्ने एउटा संकल्पका साथ आउने अवस्था बनोस् भन्ने हामी सबै चाहन्छौँ ।
उनले अहिले आफ्नो पार्टीको प्रदेशमा पनि सरकार भएको तर आफूहरूको यस्तो चाहना नभएको बताए ।
यस्तै उनले नेपाली कांग्रेसको संस्थापनइतर समूहको केन्द्रीय सदस्यहरुको बैठकमा शेखर कोइरालालाई सभापतिमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
अनुपम फुडल्याण्डमा संस्थापनइतरका केन्द्रीय सदस्यहरुको छलफलमा गगनले शेखरलाई सभापतिमा अगाडि बढाउन सुझाव दिएका हुन् ।
स्रोतका अनुसार थापाले तल्लो तहसम्म शेखर दाईको भोट राम्रो भएकाले संस्थापनइतरबाट शेखरलाई साझा उम्मेदवार बनाउन सुझाव दिएका थिए । ‘मेरो क्षेत्र काठमाडौँमा म प्रकाशमानसिंह नजिक छु, तर राष्ट्रिय राजनीतिलाई विचार गर्दा साझा उम्मेदवारको रुपमा शेखरलाई अगाडि बढाउन उपयुक्त हुन्छ’, गगनले भनेको स्रोतले बतायो ।
त्यस्तै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि शेखरलाई नै अगाडि बढाउन सुझाव दिएका छन् । साझा उम्मेदवार तय गर्न बसेको केन्द्रीय सदस्यहरुको छलफलमा सभापतिका आकांक्षीहरु भने थिएनन् ।
