पहिलो विवाह तोडिएको ८ वर्षपछि नायिका प्रियंका कार्कीले धुमधामसँग दोस्रो विवाह गरिन् । नायक आयूष्मान देशराज जोशीसँग उनले शुक्रबार बुढानिलकण्ठस्थित पार्क भिलेज रेस्टुरेन्टमा लगनगाँठो कसेकी थिइन् । २७ वषिर्य आयूष्मानको चाहिँ यो पहिलो विवाह हो ।
प्रियंकाले २२ वर्षको उमेरमा रोचक मैनालीसँग प्रेम विवाह गरेकी थिइन् । त्यतिबेला सामान्य तरिकाले वैवाहिक जीवनमा बाँधिएकी उनले दोस्रो विवाह चाहिँ निकै धुमधामले गरेर धोको पुरा गरिन् । यो उनको निजी विषय भयो ।
तर, प्रियंकाको विवाहमा भारतीय पहिरन र संस्कार हावी हुनुले चाहिँ धेरैलाई आश्चर्यमा पारेको छ । विहेमा प्रियंका र आयूष्मान दुवै भारतीय पहिरन र श्रृंगारमा देखिएका थिए । प्रियंकाले विहेमा लहेंगा लगाएकी थिइन् । सेरवानी लगाएका आयूष्मानले टाउकोमा पगडीसमेत भिरेका थिए । आयूष्मानका भाइ आशिरमान देशराजले समेत भारतीय पहिरन लगाएका थिए ।
त्यसैगरी, प्रियंकाले अर्को भारतीय संस्कार नक्कल गरिन्- म्युजिक सेरिमोनी । विहेको केही दिन अगाडि संगीत समारोहका नाममा केटीको घरमा नाचगान गर्ने चलन भारतीय समाजमा छ, नेपालमा छैन ।
